काठमाडौं - सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव रोशन पोखरेलले चालु आर्थिक वर्ष २०८१- ८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने बताउनुभयो ।

यो निर्णयसँगै अब कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलनको उपचार निःशुल्क हुने भएको छ। 

जलनको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले असोज ३० गते मन्त्रिपरिषद्‌मा लैजानुभएको थियो। 

जलनका बिरामीको उपचार निःशुल्क गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि समेत बनाएको छ। मन्त्रालयले बनाएको कार्यविधिमा जलनका बिरामीको निःशुल्क उपचार जिल्ला तहका अस्पतालबाट गर्ने उल्लेख छ। 

कार्यविधि अनुसार जटिल खालका बिरामीका लागि पाँच लाखसम्म उपलब्ध गराउने गरी व्यवस्था छ। 

जिल्ला तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा जलनका बिरामीको उपचार हुने व्यवस्था छ।

केन्द्रमा कीर्तिपुर, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा जलनको उपचार हुने गरेको छ।