काठमाडौं - वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले  मोटरसाइकलको आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०- ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । 

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा  वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङ्ग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो ।

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । 

गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । 

आव २०८०- ८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जा आयात भएका थिए ।

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जाहरु आयात भएको छ ।