दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः १६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो ।

हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ ।

हनुमानढोकाको दसैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको पनि कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।

वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दसैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । 

दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नव दुर्गा सहित दसैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ ।