काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं १३ बालश्रम मुक्त वडा घोषणा भएको छ । वडाले एक भव्य कार्यक्रम गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । वडाले विभिन्न चरणमा बालश्रमको अनुगमन गरेको थियो वडाक्षेत्र भित्र सञ्चालित उद्योग कारखानाहरुबाट ३ जना बालकहरुलाई उद्धार गरी गाउ समेत फर्काएको थियो । कार्यविधिले निर्दिष्ट गरेका सूचक पूरा गरी बडालाई बालश्रम मुक्त बनाइएको छ । घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख घनश्याम गिरिले १३ नं. वडा बालश्रम मुक्त भएकोमा हार्दिक बधाई दिनु भएको थियो । चन्द्रागिरि नगरपालिका बालअधिकार प्रवद्र्धन गर्नका लागि सक्रिय रुपमा लागिरहेको बताउदै पूरै पालिकालाई नै बालश्रम मुक्त पालिका बनाउने अभियान आफू रहेको बताउनु भयो । बालश्रमको अन्त्य गरी सिङगो नगरपालिकालाई नै बालमैत्री नगर बनाउने योजना रहेको हुनाले यस कार्यमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको कुरासमेत बताउनु भयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिको रुपमा उपस्थिती हुनु भएका नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले हामी सबैले बालश्रम र बालकामको बारेमा आफै प्रष्ट हुन सकियो भने मात्र हामीले बालश्रम पत्ता लगाउन सक्ने कुरा बताउनु भयो । वडालाई बालश्रम बनाउने काम अन्तिम चरणमा पुगेको हुनाले अब चाडै नै नगरलाई पनि बालश्रम मुक्त नगर घोषणा गर्ने बताउनु भयो । बालबालिकाको संरक्षण गर्ने दायित्व सबैको भएको हुनाले एक अर्कालाई दोष देखाउन नहुनेमा उपप्रमुख श्रेष्ठको जोड थियो । घोषणा कार्यक्रममा बालश्रम विरुद्धको र्यालीसमेत वडा परिक्रमा गराइएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी शिक्षक, वडाका समाजसेवी, नागरिक समाज संघसंस्थाका प्रतिनिधि नगरप्रहरी नेपाल प्रहरी पालिकाका कर्मचारी लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्था तथा वडा क्षेत्रमा रहेका उद्योगी व्यवसायिहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वटा वडामा १३ वटा अब बालश्रम मुक्त वडा भएका छन । कार्यक्रमको लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभाध्यक्ष तथा वडा नं १३ का वडा अध्यक्ष श्रीकृष्ण खत्रीले बडा क्षेत्रभित्र जो कोहीले पनि बालश्रमको प्रयोग गरेको देखेमा तत्काल वडालाई खबर गर्न आग्रह गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनु भएको थियो ।


0 comment