काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं १ र १३ बालश्रम मुक्त वडा घोषणा गर्ने तयारीमा रहेका छन । वडा नं १ ले भाद्र १५ गते र वडा नंं १३ ले भाद्र १३ गते वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको सोही वडाका वडा अध्यक्षहरुले बताएका छन । वडा नं. १३ का वडा अध्यक्ष श्रीकृष्ण खत्रीले आफूले वडालाई बालश्रम मुक्त वडा बनाउने प्रयास विगतदेखि नै गरेको भए तापनि अहिले घोषणाको अन्तिम चरणमा पुग्दा निकै खुशी महसुश भएको बताए । त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरिश्याम राना मगरले वडालाई बालश्रम मुक्त बनाउनका लागि सबैको सहयोग भएमा मात्र सकिने अनुभव बताए ।
नगरपालिकाको वडा नं १ र १३ दुबै वडामा नगर उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा वडा क्षेत्रभित्र सञ्चालित होटेल उद्योग कारखानाहरुमा बालश्रम अनुगमन भएको थियो । सोही क्रममा चन्द्रागिरि नगरपालिका बाल संरक्षणको सवालमा निकै सक्रिय भएर काम गरिरहेको नगर उपप्रमुख बसन्ती श्रेष्ठले बताएकी छन । वडा नं. १ को बालश्रम अनुगमन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सोही कुरा बताएकी हुन । नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने अभियानमा बाल विकास समाज वल्र्डभिजन इन्टरनेसनल नेपाल जस्ता सामाजिक संस्थाहरुको हातेमालो रहेको कुरा पनि उपप्रमुख श्रेष्ठको भनाई थियो ।
बालश्रम मुक्त वडा घोषणाका लागि २० वटा सूचक पूरा गर्नुपर्ने बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ मा उल्लेख छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये जम्मा १० वटा स्थानीय तह बालश्रम मुक्त घोषणा भएका छन । बालश्रम मुक्त स्थानीय तह निर्माणका लागि संघीय सरकारले प्रोत्साहन स्वरुप ३ लाख बजेट समेत उपलब्ध गर्ने गरेको छ ।


0 comment