काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि भदौ ११ गते बुधबार निर्वाचन हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार उक्त मितिमा सभापति चयनका लागि समय तोकेका हुन्।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सोमबार जारी सूचनामा समितिको सभापति भदौ ११ गते चयन गरिने उल्लेख गरिएको छ। प्रतिनिधिसभा नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने प्रावधानअनुसार अन्तिम दिनमै मिति तोकिएको हो।

यसअघि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउन गरिएको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उक्त हेरफेरमा खतिवडाको संलग्नता रहेको ठहर संसदको छानबिन समितिले गरेको थियो।

सभापति चयनको प्रतिस्पर्धामा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। समितिको नेतृत्व कसले गर्ने भन्नेबारे दलहरूबीच कसरत जारी रहेको बताइएको छ।