काठमाडौं - सुदूरपश्चिमका पहाडी क्षेत्रमा लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ। नदीमा बहाव बढेपछि शनिबार बिहानदेखि नेपाल–भारत सीमामा रहेको बनबासा पुल हुँदै ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

शनिबार दिउँसो शारदा ब्यारेज (बनबासा) मा पानीको बहाव १ लाख ७० हजार ६०६ क्यूसेक मापन गरिएको थियो। साँझ ६:१५ बजेको मापन अनुसार बहाव घटेर १ लाख ३१ हजार ०५८ क्यूसेकमा झरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले पहाडी क्षेत्रमा वर्षा केही कम भएपछि पानीको बहाव क्रमशः घटिरहेको जानकारी दिए।

सुरक्षाका कारण बनबासा पुलमार्फत चारपाङ्ग्रे सवारी साधनको आवतजावत बन्द गरिएको छ भने दुईपाङ्ग्रे सवारी र पैदलयात्रुहरूको हिँडडुल भने सुचारु रहेको प्रहरीले जनाएको छ। प्रहरीले नदी आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।