राष्ट्रिय मातृभूमि पार्टीले इण्डियाले जबर्जस्ती कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन नेपाल सरकारलाई चेतावनी दिएको छ ।
पार्टीले एक विज्ञप्ती जारी गर्दै हाम्रा वीर पूर्खाको अदम्य साहस र रगतको बलिदानबाट परापूर्वकालदेखि अटल रहेको मातृभूमिको सार्वभौमिकतामा विदेशी उपनिवेशका दासत्वका खण्डहरहरुको यो ताण्डव नृत्यको डटेर सामना गर्नुको विकल्प नरहेको समेत बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, "यही भदौ ३, २०८२ मा इण्डिया र चीनका परराष्ट्र मन्त्रीबिच भएको १२- बुँदे सम्झौताको ९ नं. बुँदामा दुबै देशले लिपुलेक नाका भएर सीमा व्यापार गर्ने समाचार बाहिर आएको छ । १ नोभेम्बर, १८६० को नेपाली भूमी फिर्ता सम्बन्धी सन्धि अनुसार काली पूर्वको कुटी, नाभी, गुन्जि, छाङगरुक, लिम्पियाधुरा समेतका भू-भाग नेपालको भूमि हो । नेपालको स्वामित्व भएको लिपुलेक, र कालापानी भूमि १९६२ को चीन र इण्डिया युद्धका बेलामा तत्कालीन प्रधानमन्त्री नेहरुले नेपाललाई पत्राचार गरी एक वर्षको लागि उक्त भूमिमा इण्डियन सेना राख्न अनुमति लिइएकोमा हालसम्म पनि जबर्जस्ती कब्जामा राखी एउटा छिमेकीले त्यहाँ विभिन्न निर्माण कार्य गर्नु र दुबै छिमेकीले त्यो भूमिलाई व्यापार नाका बनाउने हरकत गर्नु नेपालको सार्वभौमिकता माथिको ठाडो र नाङ्गो आक्रमण हो । हाम्रा वीर पूर्खाको अदम्य साहस र रगतको बलिदानबाट परापूर्वकालदेखि अटल रहेको मातृभूमिको सार्वभौमिकतामा विदेशी उपनिवेशका दासत्वका खण्डहरहरुको यो ताण्डव नृत्यको डटेर सामना गर्नुको विकल्प छैन । अतः देशको सार्वभौमिकतासँग जोडिएको यस विषयमा को ठुलो विदेशी दलाल बन्ने प्रतिस्पर्धामा सत्तासीन भ्रष्ट दलहरुले नजरअन्दाज गरी आफ्नो कर्तव्यमा च्युत भएमा नेपाली जनताको विद्रोहको आँधीबेहरीले यिनीहरु सदाको लागि पखालिने छन् । विदेशीबाट भएको यस्तो कुकृत्य र अपराधबाट मातृभूमिलाई बचाउन दुबै छिमेकीलाई नेपालका यस सम्बन्धी प्रमाणहरु पुनः बोध गराउँदै तत्काल यो विषयलाई संयुक्त राष्ट्र संघमा उठाउन नेपाल सरकारलाई चेतावनी सहित यो विज्ञप्ति जारी गरिएको छ ।
जय मातृभूमि !
जय सुशासन !!
जय नेपालवाद !!!"



0 comment