काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रूपियाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

छानबिन समितिको सिफारिस बमोजिम नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले उनलाई अध्यक्ष पदबाट पदमुक्त गर्ने  मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।