काठमाडौं — रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको जनाइएको छ । 
नौ जना निवेदकहरू आज क्यान्डिडेट बेन्च को छलफलमा सहभागी हुन भैरवास्थित रामादा होटलमा उपस्थित भइसकेको रास्वपाले बताएको छ । रास्वपाका अनुसार उम्मेद्धार बन्न निवेदन दिने निवेदकहरूसँग पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले वन अन वन छलफल गर्ने कार्यक्रम रहेको छ ।

यो प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्धा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्नु हुन्छ भन्ने कुरा बुझ्ने प्रयत्न भएको रास्वपाको भनाई छ । 

उम्मेदवार हुन निवेदन दिनुहुनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्की लगायतको टोली रुपन्देहीमा छ ।