जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ६.४ किलो अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

उनीहरूको साथबाट ४४४ तोला चाँदी र ५ लाख १४ हजार ६६५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। बरामद सुनको बजार मूल्य करिब १० करोड ९७ लाख रुपैयाँ छ।

प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने छ।

गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजेदेखि पोखरा महानगरका वडा नम्बर २, ३, ४ र ९ का क्षेत्रमा अपरेशन सुरु गरिएको थियो। रातभर चलाएको कारबाहीमा अवैध सुनचाँदीको कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप , मनिकलाल आदक , सन्दीप ढाव , सोमनाथ पाल , दीपक सामन्त , गोविन्दा दिण्डा , असित वर , तापस सामन्त , उज्वल भोमिक , सुनिता पवार र प्रोभास माझी रहेका छन्।

प्रहरीका अनुसार, उनीहरू सबै कोलकाता र पश्चिम बङ्गालका बासिन्दा हुन् र लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत थिए।