काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं. १३ ले वडालाई बालश्रम मुक्त वडा बनाउने प्रक्रिया सुरु गरेको छ । वडाले वडालाई बालश्रम मुक्त वडा निमार्णका लागि चरणवद्ध कार्यक्रमहरु गरिरहेको छ । वडाले वडा क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विध्यालयमा रहेका विभिन्न बालक्लवका पदाधिकारीहरुलाई बाल सरंक्षणको बारेमा अभिमुखीकरण गरी वडा स्तरीय बालक्लव सञ्जालसमेत गठन गरिसकेको छ । वडास्तरीय बाल अधिकार समितिको आयोजनामा कार्यक्रम गरी सञ्जाललाई सक्रिय बनाउने वडाले जनाएको छ । 
त्यसैगरी वडाले एक कार्यक्रमको आयोजना गरी वडाक्षेत्रमा रहेका विभिन्न उद्योग कारखानाका रोजगारदाताहरुलाई बालश्रम निवारणका बारेमा छलफल गराई आ आफ्ना उद्योग कारखानामा कुनैपनि वहानामा बालश्रमको प्रयोग नगर्ने नगराउने प्रतिवद्धतासमेत लिएको छ । सबै उद्योगीहरुले बालश्रम प्रयोग नगर्ने प्रतिवद्धता जनाइसकेका छन । सोही वडाका वडा अध्यक्ष श्रीकृष्ण खत्रीले वडाले बालश्रम मुक्त वडा निमाणर््ा अभियान सुरुवात गरेको हुनाले यस अभियानमा वडावासी सबैले साथ दिनुपर्नेमा जोड दिदै वडाभित्र जो कोहीले पनि बालश्रमको प्रयोग गरेको पाइएमा कानुन बमोजिम अगाडी बढने कुरा बताउनु भयो । 
वडा अध्यक्ष खत्रीले वडा एक चरणको बालश्रम अनुगमन गरिसकिएको र अब आगामी दिनमा पनि चरणवद्ध रुपमा अनुगमनमा वडाबाट समितिका व्यक्ती, प्रहरी, वडा सदस्यहरुको टिम खटिने कुरा जानकारी गराउँदै साथ र सहयोगको लागि अपिल समेत गर्नु भयो । 


चन्द्रागिरि नगरपालिकाका जम्मा १५ वटा वडा मध्ये १२ वडा वडा बालश्रम मुक्त घोषणा भइसकेको छ । बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ ले १४ वर्षमुनीका कुनैपनि बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ भने १५ देखि १८ वर्षमुनीका बालबालिकाहरुलाई श्रमको हकमा विभिन्न शर्त तथा मापदण्डहरुको व्यवस्था गरेको छ । बालश्रम मुक्त वडा तथा नगर निर्माणका लागि बाल विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।