काठमाडौं - कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन गर्न गठित संसदीय समितिले आफ्नो जिम्मेवारी पूरा गरेको छ । समितिले २९ दिन लगाएर तयार पारेको ११६ पृष्ठको प्रतिवेदन मंगलबार सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ ।
प्रक्रिया मिचेर विधेयकमा गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको प्रतिवेदनमा ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने’ साथै विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने पनि उल्लेख गरिएको छ । सभापति खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको पनि उल्लेख गरिएको छ ।
विधेयक तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत प्रतिवेदनमा गरिएको छ। आगामी दिनमा पनि यस्ता खालका समस्या आउन सक्ने भन्दै सजकता अपनाउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।
दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी प्रक्रिया मिचेर विधेयकमा संशोधन गरिएको भेटिएपछि संसद्ले नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहने गरी छानबिन समिति गठन गर्न बाध्य भएको हो ।
प्रतिनिधिसभामा मंगलबार समितिको प्रतिवेदन पेस गर्दै कुलिङ पिरियडमा गडबडी भएको निष्कर्ष कुलिङ पिरियड छानबिन समितिले निकालेको बताए । समितिका सभापति परियारका अनुसार गडबडीमा संलग्न राजनीति व्यक्तिलाई राजनीतिक रुपमा जिम्मेवार बनाउनुपर्छ । कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने भएकाले सोहीबमोजिमको सुझाव समितिले दिएको बताए ।
‘आगामी दिनमा यस्ता त्रुटिहरु हुन नदिन मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रुपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास सुरु गर्ने, विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिनुपर्छ,’ उनले भने, ‘विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई नै त्यससम्बन्धमा बढी जवाफदेही बनाउनुपर्छ ।विषयवस्तुको प्रकृतिअनुसार संवेदनशील छलफलमा गोपनीयता र पारदर्शितालाई सन्तुलनमा राख्न सोहीअनुसार सरोकारवालाबाहेक अन्यलाई प्रवेश दिनुहुँदैन ।’
सभापति परियारले समितिका निर्णयहरुमा एकरुपता कायम गर्न र मानवीय त्रुटि कम गर्न दिग्दर्शन तयार गरी लागु गर्नुपर्ने बताए । परिमार्जन भएका विषयमा समिति सभापतिले प्रस्टसँग वाचन गरी निर्णय पुस्तिकामा लेखेर निर्णयमा संलग्न समिति सदस्यहरुको हस्ताक्षर पुस्तिकामा गर्नुपर्ने सुझाव समितिले दिएको छ ।
समितिका प्रतिवेदन संसद्मा पठाउनुपूर्व समितिको बैठक राखी अनिवार्य रुपमा छलफल गराउनसमेत समितिले सुझाव दिएको छ । समितिका सचिवको काम-कारबाही र अधिकार स्पष्ट पार्न समेत समितिले सरकारलाई आग्रह गरेको छ ।
हेर्नुहोस् समितिको प्रतिवेदनको पूर्ण पाठ :


0 comment