काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. १२ मा वडा कार्यालयको लेटरप्याड, छाप र वडा अध्यक्षको नक्कली दस्तखतसहित नक्कली कागजातहरू बनाइएको घटना सार्वजनिक भएको छ। घटनाको अनुसन्धानको क्रममा काभ्रेपलाञ्चोक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२/४/१२ गते बिहान १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गर्दा 'Ward Chairperson' लेखिएको छापसहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका कुल २६ थान छापहरू, नेपाली नगद रू. ६८,७७०।–, विभिन्न मुलुकका नोट १४ थान, नागरिकता २ थान, पासपोर्ट, संघसंस्थासम्बन्धी कागजात, ११ थान पेनड्राइभ, 'GOLG KIST' लेखिएको CPU १ थान र हार्ड ड्राइभ २ थान बरामद गरिएको छ।
घटनामा संलग्न रहेको अभियोगमा जिल्ला गोरखा शहीद लखन गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरस्थित शंखमुलमा 'गज्जबको फोटो कपी एण्ड स्टेशनरी सेन्टर' सञ्चालन गर्दै आएका ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका वडा नं. १२ निवासी ३८ वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।


0 comment