काठमाडौं - मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ। जिल्ला सरकार वकिल कार्यालय काठमाडौँले मंगलबार मुद्दा दायर गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई सात वर्षदेखि दश वर्षसम्म कैद सजाय र पीडितलाई तीन लाख क्षतिपूर्तिको माग गरिएको छ।

एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी  फरार रहँदै आएका थिए ।

सरकारी वकिल कार्यालयले मंगलबार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ बमोजिमको कसुर गरेको भन्दै अहिराजविरुद्ध मुद्दा दायर गरेको हो।  (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

पीडित युवतीले आफूलाई कोठामै आएर अहिराजले मुख थुनेर जबरजस्ती करणी गरेको अनुसन्धान अधिकारीसमक्ष बताएकी छन्। तर, अहिराजले भने पीडितसँग पारिवारिक सम्बन्ध रहेको दाबी गर्दै विदेश पढ्न जान खोज्दा असफल भएपछि कुलतमा फसेको र आफूमाथि करणीको आरोप लगाएको दाबी गरेका छन्।