सत्ता र राजनीतिक आडमा पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा, दु:ख भोग्न नपरोस् भन्ने तर्फ हरदम सजग रहने दाबी गरेका आईजीपी थापाले नै दुई वर्ष जुनियरलाई बढुवा गर्दा कारबाही नै नभोगेका डीएसपीलाई छुटाएका छन् । काठमाडौं । विसं २०६१ सालमा प्रहरी निरीक्षक भर्ना भएका वीरेन्द्र थापालाई एसपी बढुवामा पाँचौं पटक पनि छुटाइएको छ ।नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच सत्ता सहकार्य बने सँगै नेेपाल प्रहरीको संगठनमा बिचौलियाहरु हावि भएको बताइन्छ ।यसको पुष्टि हालै गरिएको प्रहरी अधिकारीहरुको बढुवाले प्रष्ट पार्छ ।

राष्ट्र सेवक प्रहरीका डिएसपी थापालाई  पाँचौं पटकसम्म  बढुवामा छुटाउँदा उनीभन्दा जुनियर सात जनालाई एसपीमा बढुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत रहेका डीएसपी थापा अहिलेको बढुवा सूचीको प्रतिस्पर्धामा तेस्रो नम्बरमा थिए ।उनकै ब्याचका अनिल कुमार खड्का, दीपेन्द्र पञ्जियार, महेश थापा र महेन्द्र नेपाल पनि प्रतिष्पर्धामा थिए । उनीहरू चारै जनासहित उनीहरूभन्दा झण्डै दुई वर्ष जुनियर डीएसपी एसपी बढुवामा सिफारिस हुँदा थापा भने पाँचौँ पटक बढुवामा छुटाइए ।बढुवामा छुटाइएसँगै २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएका उनी नेपाल प्रहरीका एक्ला डीएसपी हुन् । जबकी उनीभन्दा जुनियर २०६२ मा भर्ना भएका इन्स्पेक्टरहरू समेत एसपी बनिसकेका छन् ।हाल बढुवाका लागि विसं २०६१ र ०६२ भदौमा इन्स्पेक्टर भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा थिए । तर डेढ वर्ष सिनियर भएको र कारबाहीमा समेत नपरेका डीएसपी थापा भने बढुवामा छुटाइए । थापा २०७२ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । त्यसको २ वर्षपछि २०७४ मा डीएसपीमा बढुवा भएका अहिले एसपी बढुवाका लागि सिफारिस हुँदा उनी भने छुटाइए ।

जबकी, अहिले बढुवामा छुटेका थापाकै २०६१ कै ब्याचीहरू करिब साढे तीन वर्ष पहिला नै एसपी भइसकेका थिए । २९ असार २०७९ मा थापासँगै इन्स्पेक्टरमा भर्ना भएका कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्वपीएसओ समेत रहेका कोमल शाहसहितका व्यक्ति एसपीमा बढुवा भएका थिए । त्यसपछि पनि चार लटमा डीएसपीबाट एसपी बढुवा हुँदा पनि थापा छुटेका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयले रिक्त दरबन्दी अनुसार सिरियल रुपमा वरियतासमेत नमिचि बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालयले वरियता अनुसार बढुवा गर्दा नअटाएको भनेपछि उनीहरू प्रतिस्पर्धाबाट समेत बाहिरिएका थिए ।सँगैका ब्याचीहरू पाँचौं लटसम्ममा वरियताअनुसार सिरियल रूपमा बढुवा हुँदा छुटेका थापा अहिले फेरि छुटे । यसअघि बढुवा छुटेका थापा भने कारबाही गरेर बढुवा रोक्का गरिएका व्यक्ति भने होइनन् ।जबकी गत चैतमा मात्रै तत्कालीन आईजीपी वसन्त कुवरले उनलाई उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेका थिए । त्यतिबेला उनै कुवरले निकालेको बढुवा सूचीमा उनी छुटाइएपछि सान्त्वना दिन भन्दै कुँवरले पुरस्कार दिएर सामसुम पार्ने कोशिस गरेका थिए ।

अहिले फेरि पाँचौं पटक बढुवामा छुटाइएपछि आईजीपी दीपक थापालाई अन्यायलाई ढाकछोप गर्न भन्दै उनलाई प्रहरी वृत्त सिंहदरबारको इन्चार्ज दिएका छन् । वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल तालिमका लागि जर्मनी गएपछि खाली भएका वृत्तको जिम्मेवारीमा जान भन्दै आईजीपी थापाले डीएसपी थापालाई भनेको स्रोतको दाबी छ।हरेक पटक बढुवामा छुट्ने त्यसलाई अन्यायलाई ढाकछोप गर्न पुरस्कार र ईन्चार्जको ललिपप देखाएर भुलाउने खोज्ने नेतृत्वको रणनीति देखिन्छ ।यता आईजीपीको दर्ज्यानी चिन्ह लगाएपछि गत ५ चैतमा बोल्दै दीपक थापाले वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दुख भोग्न नपरोस् भन्नेतर्फ हरदम सजग रहने बताएका थिए ।पहुँचको हैन पद्धतिको थिति बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको दाबी थियो । तर अहिले भने करिब दुई वर्ष सिनियरलाई छुटाउँदै उनै थापाले बढुवा निकालेका छन् ।