
काठमाडौं— सिन्धुली जिल्ला मरिण गाउपालिका वडा नंं २ का विपन्न परिवारलाई बाल विकास समाज तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिविकोपार्जनका लागि सहयोग गरेको छ । संस्थाले ललितपुर जिल्लाका विभिन्न ईट्टा उद्योगमा आएर ज्यालामजदुरी गरी गाउँ फर्किएका विपन्न परिवारलाई जिविकोपार्जनमा सहज होस भन्ने मनसायबाट सहयोग गरेको हो । परिवारका लागि गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कमल बहादुर आले मगरले यस वडाका आर्थिक विपन्नतामा परेका केही परिवारका बालबालिकाहरु ईँट्टा उद्योगमा काम हुने समयमा उद्योगमै आमाबुबासँगै काम गर्न जाने गरेका हुनाले उनीहरु शिक्षाबाट वञ्चित हुने गरको कुरा उल्लेख गर्दै संस्थाले गरेको सहयोगको सदुपयोग गरी आयआर्जन बढाई आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्नेमा जोड दिनु भएको थियो ।

आर्थिक समस्यामा रहेका इँट्टा उद्योगमा ज्याला मजदुरी गर्ने परिवारका बालबालिकाहरुलाई शैक्षिक अवसरमा जोड दिनका लागि संस्थाले आर्यआर्जन सहयोग गर्ने गरेको र त्यसै अनुसार यो कार्यक्रम गरिएको कुरा संस्थाका सि फिल्ड अधिकृत दिपेन्द्र पराजुलीले बताउनु भएको थियो । उक्त सहयोगबाट जिविकोपार्जन सहज बनाई आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउने विश्वास संस्थाले लिएको छ । कार्यक्रममा विपन्न परिवारलाई आयआर्जनका लागि बाख्रा र भैसीको पाडी सहयोग गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुलाई स्टेस्नरीका सामग्री सहित शैक्षिक सहयोग पनि गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, बालबालिका शिक्षक समाजसेवीहरुको उपस्थिती रहेको थियो भने बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग रहेको थियो भने मरिण गाउँपालिका वडा नं २ ले कार्यक्रमको सहजिकरण गरेको थियो ।


0 comment