काठमाडौं— सिन्धुली जिल्लाको हरिहरपुर वडा नं. २ र मरिण गाउपालिका वडा नं. २ र ६ का १ सय सात विपन्न परिवार स्वास्थ्य विमामा आवद्ध भएका छन् । आर्थिक अवस्था कम्जोर भएका काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न ईट्टा उद्योगका गएर काम गरी गाउँ फर्किएका श्रमिक परिवारलाई स्वास्थ्य विमामा आवद्ध गरिएको हो । मरिण गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष कमल बहादुर आले मगर र वडा नं. ६ का वडा अध्यक्ष हर्कवीर माझीको विशेष पहलमा उक्त परिवारहरुलाई स्वास्थ्य विमामा आवद्ध गरिएको छ । विमामा आवद्ध भएर विमा परिचयपत्र प्राप्त गरेका परिवार निकै खुशी देखिन्थे । प्रतिपरिवार ५ जना सदस्यका लागि रु ३ हजार ५ सयका दरले शुल्क भुक्तानी गरी स्वास्थ्य विमा बोर्ड सिन्धुलीमार्फत उक्त परिवारहरुको स्वास्थ्य विमा गरिएको हो ।

स्वास्थ्य विमामा आवद्ध भएका परिवारलाई विमा परिचय पत्र हस्तान्तरण गर्दै वडा अध्यक्ष कमल बहादुर आले मगरले सबै परिवारलाई स्वास्थ्य विमा गरी स्वास्थ्यको पहुँच बढाउने नेपाल सरकारको काम राम्रो भएको उल्लेख गर्दै यस वडाका विपन्न परिवारलाई स्वास्थ्य विमामा आवद्ध गर्नका लागि यहाँसम्म आएर सक्रिय भूमिका निर्वाह गर्ने संस्थाका प्रतिनिधिलाई धन्यवाद दिनुभएको छ । गाउँपालिकाले पालिकावासी सबैलाई स्वास्थ्य विमामा आवद्ध गराउनका लागि विशेष पहल भइरहेको र त्यसैअनुसार हरेक आर्थिक वर्षमा विमाका लागि कार्यक्रमहरु सञ्चालन गरिरहेको वडा अध्यक्षको भनाई थियो । बजेटको अभावले सबैलाई यसमा आवद्ध गर्न अपेक्षाकृत रुपमा सफलता नभए तापनि प्रयास जारी राखिएको कुरा मरिण वडा नं ६ का वडा अध्यक्ष हर्कविर माझीले बताउनु भयो । विपन्न तथा श्रमिक परिवारलाई स्वस्थ्य विमामा आवद्ध गर्ने कार्यक्रम संस्थाको रहेको र सोही अनुसार यो सिन्धुली जिल्लामा आएर स्वास्थ्य विमाको कार्यक्रम चलाइएको बाल विकास समाजका सि. फिल्ड अधिकृत दिपेन्द्र पराजुलीले बताउनु भयो । 
स्वास्थ्य विमा कार्यक्रममा रातमाटे, कपिलाकोट, सिन्जाली डाडा, मार्फा डाडा, पांग्रेखोला दोभान चौर, लहरे, चारपाटे मुंग्रे, माझी गाउँ लगायतका टोलवासीहरुलाई समेटिएको छ । स्वास्थ्य विमाका लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग रहेको थियो भने स्वस्थ्य विमा बोर्ड सिन्धुलीसँगको समन्वयमा वडा कार्यालयहरुले सहजिकरण गरेका थिए । स्वास्थ्य विमामा आवद्ध भएका परिवारले आगामी मंसिर १ गतेबाट सेवा प्राप्त गर्नेछन भने ५ जना सदस्यले रु १ लाखसम्मको स्वस्थ्य उपचार निशुल्क पाइने व्यवस्था नेपाल सरकारले गरेको छ । स्वास्थ्य विमाका लागि विमा अभिकर्ता उस्तस आले र रन्जना मोक्तानले सहजिकरण गर्नुभएको थियो ।



0 comment