काठमाडौं - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

बजेट अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमार्फत खर्च हुनेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारको रूपमा विनियोजन गरिएको छ।  बजेट ढिलाइ भएकोप्रति उपप्रमुख डंगोलले नगरबासी तथा नगरसभा सदस्यहरूसमक्ष माफी समेत मागिन्।

नगरसभा बैठकअघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संविधान अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान रहे पनि आन्तरिक द्वन्द्वका कारण काठमाडौं महानगरको बजेट ढिलो भएको हो।