काठमाडौं - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)को अपारदर्शिता छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। काठमाडौंमा उपलब्ध लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वृहत् भेलाको निर्णय सहित प्रशासन कार्यालयमा छानबिन ब्लु डायमन्ड सोसाइटीको आन्तरिक संरचना र निर्णय प्रणालीमा पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिनको आग्रह गरिएको छ। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्ता लिड नेपालकी निर्देशक नुमा लिम्बु (चञ्चला), मिस्टर गे ह्याडसम २०१७ एवं मनिन्द्र सिंह दनुवार, मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग,सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तर्फबाट प्रशासन कार्यालय निवेदन दिएको समुदायका सदस्यहरूले जानकारी दिए। 

ब्लु डायमन्ड सोसाइटीको आन्तरिक सञ्चालकीय संरचना, निर्णय प्रक्रिया, सम्पत्ति व्यवस्थापन र समावेशी अभ्यासमा गम्भीर अपारदर्शिता, अलोकतान्त्रिक प्रवृत्ति र सीमित गुटद्वारा संस्थाको नियन्त्रण भइरहेको विषयमा गम्भीर सरोकार प्रकट गदै प्रशासन कार्यालयबाट स्वतन्त्र र निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाइदिन औपचारिक अनुरोध गरिएको समुदायका सदस्यले जानकारी दिए। 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सोसाइटीका अध्यक्ष अमिशा( उमेश) पाण्डेलाई ५ दिनभित्र जवाफ समेत माग गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ब्लु डायमन्ड सोसाइटीलाई बोलाएर सोधपुछ गर्ने बताएको छ। संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई थाहा नै नदिई आफूखुसी साधारण सभा गर्ने सङ्घसंस्था ऐन विपरीतको कार्यको छानबिन हुने प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।