काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले न्यायिक प्रक्रियालाई पारदर्शी र छिटो छरितो बनाउने  प्रतिबद्धता जनाएका छन्। आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले मुद्दा समयमै टुंग्याउन तथा इजलासको बहसको समय व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राख्ने बताए।

पौडेलले फरक मुद्दा व्यवस्थापन पद्धति उच्च अदालत र जिल्ला अदालतमा लागु भइसकेको उल्लेख गर्दै यसलाई सर्वोच्च अदालतमा पनि विस्तार गर्नुपर्ने बताए। उनले भने, ‘यो प्रणाली आइटी आधारित भएकाले आवश्यक पूर्वाधार र सफ्टवेयरको अभाव छ, तर विस्तार गर्न सकेमा न्यायपालिकाप्रतिको अनास्था हटाउन मद्दत पुग्छ।’

उनले अनावश्यक पेशी स्थगनलाई निरुत्साहित गर्न, मुद्दाको प्रकृतिअनुसार बहसको समय निर्धारण गर्न र जटिल मुद्दामा बार एसोसिएसनलगायत निकायहरूसँग छलफल गर्दै समय व्यवस्थापनमा पहल गर्ने बताए। साथै, अनलाइन मुद्दा दर्ता, सूचना प्रविधिको विकास र न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।