काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागु औषध चरेश लोड गरी ल्याएको छ भनी यस कार्यालय मातहत प्रहरी चौकी सिर्सिया पर्याका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचना प्राप्न भएको थियो।

 सुचना पाए पछि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चोकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्रकलाई खोजतलास गर्ने क्रममा  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला परेको थियो।  ट्रक चालक जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ ट्रक तथा चालकको  खानतलासी गर्दा  ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा ३१९ के.जी. फेला परेको थियो। 

चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१ लाख ९२ हजार समेत फेला परेको थियो ।
मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ  लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भएको  हो।