नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन्। प्रहरी सहायक हवल्दारको पदमा कार्यरत ऐरीको राजीनामा नेपाल प्रहरीले स्वीकृत गरिसकेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेका अनुसार ऐरीले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्। ‘उहाँको राजीनामा पत्र प्राप्त भइसकेको छ र औपचारिक रूपमा स्वीकृत पनि भइसकेको छ,’प्रवक्ता घिमिरेले जानकारी दिए।

क्रिकेट र सुरक्षासेवा दुवैमा सक्रिय रहेका ऐरीले पछिल्लो समय खेलकुदतर्फ ध्यान केन्द्रित गर्दै आएका थिए। उनले राष्ट्रका लागि महत्वपूर्ण खेल प्रदर्शन गर्दै आइरहेका छन्। ऐरीको राजीनामा पछि अब उनी पूर्ण रूपमा खेल क्षेत्रमा केन्द्रित हुने अनुमान गरिएको छ।