काठमाडौं— नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा श्रमिकहरु जोडिने क्रम बढिरहेको छ । ललितपुर महानगरपालिका वडा नं. २२ मा रहेका इँट्टा उद्योगमा काम गर्ने श्रमिक परिवार स्वास्थ्य विमामा आवद्ध भएका छन् । स्वास्थ्य विमा बोर्ड ललितपुरसँगको समन्वय तथा बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र सहजिकरणमा ३७ श्रमिक परिवारलाई स्वास्थ्य विमामा आवद्ध गरिएको हो । स्वास्थ्य विमाको सबै प्रक्रिया पूरा गरी विमामार्फत सेवा प्राप्त गर्नका लागि सबै परिवारलाई विमा परिचयपत्र समेत वितरण गरिएको छ ।

जाजरकोट, रोल्पा, सिन्धुली, काभ्रे दैलेख, दाङ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट आएर इँट्टा उद्योगमा श्रम गरिरहेका श्रमिक परिवारहरुलाई विमामा आवद्ध गरिएको हो । विमितले आफू बस्ने आफ्नै स्थानीय तह अथवा आफू बसेको नजिकको सरकारी अस्पतालबाट सेवा लिन मिल्नेगरी स्वास्थ्य विमा गरिएको हो । स्वास्थ्य विमामा आवद्ध भई सेवाका लागि परिचय पत्र पाएपछी श्रमिक परिवारहरु निकै खुशी भएका छन् । पैसाकै अभावले अस्पतालसम्म जान हिचकिचाहट गर्ने परिवार अब परिचयपत्र पाएपछि सेवा लिनका लागि सम्बन्धित अस्पताल जाने अपेक्षा गरिएको छ ।

आकास्मीक सेवाका लागि जुन अस्पतालमा पनि विमा परिचय पत्र लागू हुने तर आकास्मीक वाहेकका सेवामा चाही प्रथम विन्दुको अस्पताल जानुपर्ने कुरा स्वास्थ्य विमा गर्ने सहजकर्ताले बताउनु भयो । रु ३५०० तिरेर स्वास्थ्य विमा गरेपछी एक वर्षसम्म ५ जना परिवारले रु १ लाख सम्मको स्वास्थ्य सेवा सुविधा नेपाल सरकारबाट पाउने व्यवस्था छ । ५ जना भन्दा धेरै परिवारसंख्या भएको अवस्थामा एक सदस्य बराबर रु ७०० शुल्क थपिदै जाने र सेवामा पनि रु २० हजार थप हुने कुरा विमा सहजकर्ताको भनाई थियो । यसरी नै विभिन्न क्षेत्रका श्रमिकहरुलाई स्वास्थ्य विमामा आवद्ध गराउन निरन्तर पहल भएको अवस्थामा धेरै भन्दा धेरै निम्नस्तरका मानिसहरुको स्वास्थ्यमा पहुँच वृद्धि हुने देखिन्छ ।


0 comment