काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रस्तावित सुन र गहनामा शून्यबाटै कर लाग्ने व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार भएको छलफलमा व्यवसायीहरूले अत्यधिक करले व्यवसाय धरासायी हुने र उपभोक्ता बढी मारमा पर्ने भन्दै गुनासो पोखेका हुन्।

महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले सुनमा हाल ३० प्रतिशतसम्म कर लाग्ने प्रस्तावले उपभोक्तालाई महँगो दरमा सुन किन्न बाध्य बनाउने र हजारौँ कालीगढको रोजगारी गुम्न सक्ने चेतावनी दिए। उनले खुला सिमानाका कारण भारतीय बजारतर्फ सुनको तस्करी बढ्ने खतरा औँल्याउँदै यस्तो करले राज्यको राजस्वमा समेत ठूलो घाटा निम्त्याउने बताए।

बैठकमा व्यवसायीहरूले सुनलाई विलासिताको वस्तु नभई संस्कार, संस्कृति र सम्पतिको रूपमा बुझ्न सरकारलाई आग्रह गरे। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिका प्रतिनिधि विपेन्द्र रामुदामुले सुनलाई संकटका बेला खर्च गर्न सकिने सम्पत्तिका रूपमा समेत बुझ्न सुझाव दिए।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन विश्वकर्माले सुनचाँदी व्यवसायले वार्षिक १२ अर्ब रुपैयाँ राजस्वमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा करिब चार खर्ब रुपैयाँको लगानी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालबाट वार्षिक ४ अर्बभन्दा बढीका सुनचाँदी गहना निर्यात हुने गरेका छन्।

व्यवसायीहरूका अनुसार व्यवसाय विस्तारका लागि कच्चा पदार्थमा सहज पहुँच, नीतिगत सहजीकरण, तथा संकटमा गुज्रिरहेको व्यवसायलाई सम्बोधन गर्न थप नीति निर्माण आवश्यक छ। महासङ्घका प्रतिनिधि दिपेशरत्न शाक्यले सुनचाँदी नेपाली संस्कार र नगद सम्पत्तिसँग गासिएको क्षेत्र भएकाले सरकारको विशेष ध्यान आवश्यक रहेको बताए।

यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज सिल्वालले सुन कालोधनको सञ्चयको माध्यम बन्न थालेपछि त्यसलाई पारदर्शी बनाउन करको नयाँ संरचना ल्याइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार हाल नेपालमा जम्मा ६ प्रतिशत मात्र सुनको कारोबार बैंकिङ प्रणालीमार्फत हुने गरेको छ।

अर्थ समितिको बैठकमा सांसदहरूले पनि अत्यधिक करका कारण उपभोक्ता र व्यवसाय दुवै प्रभावित हुने भएकाले सरकारबाट सहजीकरण आवश्यक रहेको सुझाव दिएका थिए। समितिले सुनचाँदी व्यवसायीको माग र आन्दोलनका विषयमा छलफल गर्न बैठक आयोजना गरेको हो।