काठमाडौ:काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको थियो ।
कार्यक्रममा काठमाडौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्बाट सजग हुनुपर्ने विषयमा आ-आफ्नो मत राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुन सम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने कुरामा जोड दिनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुन सम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो ।
काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि/पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ आजै काठमाडौँको नयाँबसपार्क सहित उपत्यकामा माथि उल्लेखित १२ स्थानमा स्थापना गरिएको नागरिक सहायता कक्षको उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक वहादुर तामाङ्गले समुद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा बोल्नुहुदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । जसबाट सवारी चालक तथा यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिइ यात्रा गर्ने तथा सावधानीका उपाय समेत अपनाउन सक्ने कुरामा उहाँले जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी विशेष अतिथिको रुपमा उपस्थित्त हुनु भएको थियो।


0 comment