काठमाडौं - बर्खामा बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। 

काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा निकायहरूको संयुक्त समन्वयमा शुक्रबारदेखि लागु हुनेगरी आगामी १५ दिनसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको हो।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्ड विशेष जोखिमयुक्त मानिएकाले सो क्षेत्रमा राति सवारी सञ्चालन नगर्न निर्णय गरिएको हो। एकैछिन पानी परे पनि पहिरो र बाढीका कारण राजमार्ग अवरुद्ध हुने घटना दोहोरिरहेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको सुरक्षा निकायहरूले बताएका छन्।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउन सकिने विश्वास व्यक्त गरिएको छ।