काठमाडौं —चन्द्रागिरि नगरपालिका वडा नं. १५ बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम विरुद्धको विश्व दिवसको अवसर पारेर बालश्रममुक्त वडा घोषणा गरिएको हो । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिको प्रमुख अतिथ्यतामा उक्त वडा घोषणा भएको हो । बालश्रम मुक्त वडा घोषणाका लागि पूरा गर्नुपर्ने मापदन्ड पूरा गरी वडालाई बालश्रम मुक्त बनाइएको थियो । घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख गिरिले चन्द्रागिरि नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको र बालमैत्री स्थानीय शासन घोषणाका बालश्रम मुक्त घोषणा पनि एक सुचक भएको हुँदा आजको यो घोषणा महत्वपूर्ण रहेको बताउनु भयो । बालबालिकाका क्षेत्रमा नगरले बजेटको व्यवस्था गरेर नै सिंगो नगरपालिकालाई बालमैत्री बनाउने कुरा बताउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले बालबालिकाको सवालमा समुदाय पनि सम्वेदनसिल हुनु पर्ने कुरा बताउनु भएको थियो । यस वडामा बालश्रम प्रयोग भएको जो सुकैले देखेको अवस्थामा नगरस्तरीय वडास्तरीय बालअधिकार समितिलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । घोषणा कार्यक्रममा वल्र्डभिजन इन्टरनेसनल नेपालका प्रतिनिधि भरत तामाङ्ग र बाल विकास समाजका प्रतिनिधि डा.चपला कोइरालाले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्यमा आगामी दिनमा पनि बालश्रम मुक्त वडा नगर निर्माणका लागि सहकार्य सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । घोषणा कार्यक्रममा कद्दर पत्र तथा मायाको चिनोसहित बालश्रम मुक्त वडा घोषणाको लागि अहोरात्र खटिएर काम गर्ने कर्मचारी समाजसेवी संस्थाका प्रतिनिधि नेपाल प्रहरी, नगर प्रहरी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वटा वडामध्ये १२ वटा वडामा बालश्रम मुक्त वडा घोषणा भइसकेको र वडा नं. १४ बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रियामा रहेको कुरा पनि जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झांकीसहितको ¥यालीले वडा परिक्रमा गरेको थियो । कार्यक्रमका लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो ।



0 comment