काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं १५ मा नगर उपप्रमुखको अगुवाईमा बालश्रम अनुगमन कार्य सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १५ लाई बालश्रम मुक्त वडा घोषणा गर्नका लागि नगर उपप्रमुखको सहभागितामा अनुगमन गरिएको हो । अनुगमनका क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले सिङ्गो नगरपालिकालाई नै बालश्रमुक्त नगर बनाउने अभियानमा चन्द्रगिरि नगरपालिका रहेको हुनाले यस अभियानमा साथ दिने बाल विकास समाज वल्र्डभिजन इन्टरनेसनल नेपाल लगायत संस्थाहरुप्रति आभार प्रकट गर्नु भयो । बालश्रम मुक्त वडा घोषणाका लागि अनुगमन गर्ने दायित्व पनि आफ्नो भएको हुनाले बालबालिकालाई श्रममा हैन विद्यालयमा टिकाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनु भएको थियो । चन्द्रागिरि वडा १५ लाई जुन १३ मा बालश्रम मुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको कुरा वडास्तीय बालअधिकार समितिका संयोजकले विशाल नेपाल अनलाइन खबरलाई बताउनु भयो । 


अनुगमनमा वडास्तरीय बालअधिकार समितिका पदाधिकारी जनप्रतिनिधि बाल विकास समाज तथा वल्र्डभिजन इन्टरनेसनल नेपालका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने अनुगमनमा १५ नं वडाभित्र रहेका विभिन्न होटेल, मोटरसाइकल वर्कसप गाडी मर्मत केन्द्र ग्यारेज, कवाडी फेक्ट्री फर्निचर उद्योगहरुमा बालश्रम प्रयोग भए नभएको हेरिएको थियो । चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वटा वडा मध्ये अब घोषणा हुन लागेको बडासहित ४ वटा वडामात्र बालश्रममुक्त वडा घोषणा गर्न बाकी रहेका छन । अनुगमनका लागि वडा स्तरीय बालअधिकार समितिको आयोजना थियो भने बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो ।