काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
टेलिकमको बिलिङ प्रणाली मर्मतसम्बन्धी ठेक्का लम्ब्याउने प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार टेलिकमको बिलिङ प्रणाली मर्मत, मर्मत शुल्क तथा ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको पाइएकाले संलग्नहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।यस प्रकरणमा संलग्नहरूबाट करीब ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको आयोगको दाबी छ।
मुद्दामा नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित दुई जना सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारीहरू र करिब ३० जना कर्मचारीमाथि बयान लिइएको थियो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।


0 comment