ललितपुर :शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । 
ललितपुर महानगरले देशभरका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएहो हो । शिक्षामन्त्री रघुजी पन्तले महानगरप्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गर्नु भयो। 

प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठिन समितिले २५वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङकन गरेर पानले महानगरलाई उत्कृष्ट महानगरपालिका पुरस्कार २०८२ बाट पुरस्कारसहित सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । 
शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताउनु भयो। महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामुदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताउनु भयो। 

आगामी वर्ष प्रभावकारी र नविनतम योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिनु भयो । महानगरले एसइईमा सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ जिपिए ल्याउने विद्यार्थी र विद्यालय दुबैलाई नगद पुरस्कारसहित सम्मान  गर्दै आएको बताउँदै बताउँदै भने, ‘हामीले सामुदायिक  विद्यार्थी र विद्यालयलाई प्रोत्साहित गर्न यो काम गरेका हौँ । ’ यसैगरी महानगरले ४ जिपिए ल्याउने संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगद पुरस्कार र विद्यालयलाई सम्मान गर्दै आएको छ । 

शिक्षाविज्ञ प्रा.डा. विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदैे प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्र अघि बढ्नु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रमा देशभरबाट छनौट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालयसम्मान सहित पुरस्कृत गरिएको छ । 
पानका अध्यक्ष सुदामप्रसाद गौतमले सामुदायिक विद्यालयको गुणस्तर सुधार र सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षामा देखिएको नैराश्यता चिर्नका लागि संस्था गठन गरेको बताए । 
कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो।