काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जितिया पर्व मनाइँदैछ । 

तराई- मधेसका आमाहरूले निर्जल र निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्दै यो पर्व मनाउने गरेका छन्।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व श्रद्धापूर्वक मनाउने परम्परा रहेको छ । पर्व अन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।

निराहार व्रत शुरु गरिएपछि समापन नहुन्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व रहेको पाइन्छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी र सखर, भिजाएको केराउ, दही- च्युरा, कम्तीमा पाँच प्रकारका फलफूल लगायतका सामग्री पूजामा प्रयोग गरिन्छ ।