काठमाडौं - पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । 

महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिनुभयो ।

अटवारी पर्व भाद्र कृष्ण अष्टमी पछिको दोस्रो आइतबारका दिन मनाइन्छ । नगरप्रमुख चौधरीका अनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउनुहुन्छ । शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।

आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । 

व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको पाइन्छ ।  अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिन्छ ।

फोटो: हिमाल दर्पनबाट