काठमाडौं - समुद्र सतहबाट १८ सयदेखि २७ सय मिटरसम्मको उचाइमा उत्पादन हुने आर्गानिक आलु फ्रान्समा माग भएपछि अर्गानिक सटिफिकेसनको तयारी गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख विनोद हमालले जानकारी दिए। फ्रान्समा रहेका ढोरपाटन क्षेत्रका नेपालीको पहलमा यो प्रक्रिया सुरु भएको हो।
बागलुङको बोवाङ गाविसस्थित ढोरपाटन, ताराखोला, अधिकारी चौर गाविसमा उत्पादित अर्गानिक आलु युरोपेली मुलुक फ्रान्स निर्यात गर्ने तयारी गरिएको छ। फ्रान्समा आलुको माग भएपछि ढोरपाटनको आलु हिमालयन आलुको ब्रान्डमा निर्यात गर्ने प्रक्रिया सुरु गरिएको हो।
यस क्षेत्रमा समुद्र सतहदेखि १५ सय मिटरभन्दा तल्लो मध्य पहाड र तराईमा आलु नफल्ने सिजनमा अर्गानिक आलु उत्पादन हुने भएकोले आलुको महत्व अझ बढेको उनी बताउँछन्। त्यसैले यहाँका किसानले उतपादन गरेको आलुले राम्रो मूल्य पाइरहेको उनले बताए। यहाँका किसानले प्रतिकिलो कम्तीमा ४० रुपैयाँदेखि ७० रुपैयाँभन्दा बढीसम्म आलु बिक्री गर्दै आएको हमालले जानकारी दिए।
ढोरपाटनको आलु स्वाद राम्रो भएकोले फ्रान्समा माग भएकोले गुणस्तरीयताको परीक्षण पनि भइरहेको उनले बताए। अर्गानिक सटिफिकेसन र गुणस्तरीयता परीक्षण प्रतिवेदन आएपछि निर्यातको प्रक्रिया अगाडि बढ्ने जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख हमालले बताए।
विदेशमा निर्यात गर्न सके किसानले आलुबाट अझ राम्रो मूल्य पाउनेछन्। बागलुङको बोवाङस्थित ढोरपाटन, ताराखोला, खुङखानी, तमान र अधिकारी चौर गाविसमा एक हजार हेक्टरमा आलु खेती हुन्छ। यस क्षेत्रमा एक हेक्टरमा १५ टन आलु उत्पादन हुँदै आएको उनले सुनाए।
एक वर्षमा त्यस क्षेत्रमा १५ हजार टन आलु उत्पादन हुन्छ। किसानले अझ मेहनत गरे ३० देखि ३५ हजार टनसम्म आलु उत्पादन गर्न सकिने उनले बताए। यसक लागि किसानलाई तालिम र प्राविधिक सहयोग दिइएको छ।
अर्गानिक आलु फ्रान्समा समेत माग भएपछि पहिलो चरणमा तीन हजार बोरा आर्गानिक आलु देशकै विभिन्न सहरमा पठाउने तयारी गरिएको उनले बताए। पोखरा, काठमाडौं, चितवनलगायतका सहरमा स्थानीय कृषि सहकारीमार्फत बिक्री गर्ने वातावरण मिलाई किसानलाई राम्रो मूल्य उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
0 comment