काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनुभएको छ। 

सिंहदरबारमा आज पत्रकारहरुसँग कुरा गर्दै  मन्त्री भट्टराईले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने बताउनुभएको हो ।

मन्त्री भट्टराईले विधेयकबारे सरोकारवाला, कानुन र अर्थमन्त्रालयसँग छलफल गर्ने जानकारी दिनुभयो । उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उहाँको विश्वास छ । 

मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने बताउनुभयो । 

विश्वविद्यालयलाई राजनीतिकरणबाट टाढा राख्न राजनीतिक नेतृत्वसँग छलफल गरेको पनि मन्त्री भट्टराईले बताउनुभयो । 

उहाँले मन्त्रालयको चालू आर्थिक वर्षको बजेट आइसकेकाले त्यसैलाई आधार मानेर शिक्षामा सुधारका कार्यक्रम लागू गर्ने उल्लेख गर्नुभयो।