काठमाडौं - केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । बिहान ४ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरिएको छ।
सूर्यविनायक नगरपालिका‐ ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था छ।
यसैबीच, डोलेश्वरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ ।
सार्वजनिक बिदा
डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले आज सूर्यविनायक नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
सूर्यविनायक नगरपालिका- ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा कार्यालयले समितिसँग छलफल गरिरहेको बताउनुभयो । विक्रम संवत् २०६६ साल भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।
0 comment