काठमाडौं - महोत्तरीको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइने झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । 

यस वर्ष भदौको तृतीयादेखि पूर्णिमा सम्म मनाइएको सो पर्व गएराति भगवान् रामचन्द्र र माता जानकीलाई लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाउँदै आज बिहान सम्पन्न भएको हो ।

तृतीयादेखि पूर्णिमा सम्म चलेको झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा झुलाइएको थियो ।  

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको हो ।