काठमाडौं - हरेक वर्ष लाग्ने गोसाईकुण्ड मेला भर्न जाने तीर्थयात्रुहरुको यसबर्ष पनि चाप बढेको छ ।
हिन्दुहरुको धार्मिक तथा पवित्र तीर्थस्थल मानिएको रसुवाको गोसाईकुण्डमा तीर्थालुहरु जाने क्रम जारी छ । गोसाईकुण्ड जाने तीर्थालुहरुको चाप बाटोमा निकै देख्न सकिन्छ ।
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन अर्थात् जनै पूर्णिमाको दिन गोसाईकुण्मा मेला लाग्ने गर्दछ ।
समुन्द्र सतहदेखि चार हजार तीन सय दश मिटर उचाईमा रहेको गोसाईकुण्डको क्षेत्रफल ६ सय मिटर लम्बाई र ३ सय ७० मिटर चौडाईमा फैलिएको छ।
यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेला सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्व मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका हुन् ।
चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्याइएको प्रमुख भट्टराइले उल्लेख गर्नुभयो ।
विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता हुनुका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।
0 comment