काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको नतिजा प्रकाशित गरेको हो।

वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षा साउन २ देखि ९ गतेससम्म सञ्चालन भएको थियो ।

कार्यालयले प्रथम वर्षको अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका विषयको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले बताउनुभयो ।

त्रिविले कम विद्यार्थी भएकाले यस पटक परीक्षा काठमाडौंमा मात्रै केन्द्र बनाएर सञ्चालन गरेको थियो ।

यसअघि मौका परीक्षाको नतिजा सार्वजनिक हुन एक वर्षसम्म लाग्ने गरेको थियो ।