काठमाडौं - नेपालको पहिलो राइड–सेयरिङ प्लेटफर्म टुटलको, नयाँ व्यवस्थापन र सुधारका साथ पुनरागमनको घोषणा भएको छ।

राइड–सेयरिङको निमित्त तयार गरिएको नयाँ एपमार्फत टुटलको सञ्चालन हुनेछ भने ड्राइभर र ग्राहकलाई बिमा र सुरक्षा कभरेज प्रदान गर्न टुटलले शिखर इन्स्योरेन्ससँग विशेष साझेदारी गरेको छ। 

‘सहरी आवागमनलाई रूपान्तरण गर्ने नयाँ जोसका साथ टुटललाई पुनः प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौं,’ ज्याप सर्भिसेजका प्रमुख कार्यकारी सञ्चालक र सहसंस्थापक श्रेयस कृष्ण श्रेष्ठले भने, ‘हाम्रो नयाँ व्यवस्थापन टोलीले प्रयोगकर्ताको सन्तुष्टि र सुविधालाई अग्रस्थानमा राखेर, नयाँ अनुभव दिने गरी एप तयार गरेको छ। प्रयोगकर्ताको आवश्यकतालाई राम्ररी बुझ्ने र अनुमान गर्ने उत्कृष्ट राइड–सेयरिङ सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई टुटलको पुनरुत्थानले प्रतिनिधित्व गर्दछ।’

कम्पनीले प्राविधिक पूर्वाधारलाई परिष्कृत गर्न, सञ्चालनलाई सुव्यवस्थित गर्न, र राइडर र प्रयोगकर्ता दुवैबाट बहुमूल्य प्रतिक्रिया समावेश गर्नमा ध्यान केन्द्रित गरी सबै सरोकारवालालाई थप सहज, भरपर्दो र सुविधायुक्त अनुभव प्रदान गर्न नयाँ एप तयार गरेको हो।

टुटलको नयाँ सुरुवातको रूपमा, टुटल ड्राइभर एप सेप्टेम्बर १, २०२३ बाट डाउनलोड गरी ड्राइभरले आफूलाई दर्ता गर्नको लागि उपलब्ध छ। टुटलमार्फत सवारीहरू लिन टुटल ग्राहक एप सेप्टेम्बर ६, २०२३ देखि डाउनलोडको लागि उपलब्ध हुनेछ।