हिमालय वली, काठमाडौं – हाम्रो समाज र देश जाँड, रक्सी र जुवातासको कुलतमा फसिसकेको छ । प्रायः घरमुली नै त्यसमा डुबेको पाइन्छ । कमाएर होस् या घरजग्गा, गरगहना बेचेर होस्, ढाँटेर होस्, या मागेर पैसा हातमा पाइसकेपछि लागूपदार्थको सेवन गर्नु वा जुवातास खेल्नु नियमित भइसकेकको आभास हुन्छ । यस्ता कुलतले आफूलाई त असर गर्छ नै यसले परिवार, समाज र देशलाई नै दुरगामी असर गर्दछ । यी कुरा कतिपयले बुझेका छैनन् भने कतिले बुझेर पनि बुझपचाएका छन् । 

जाँड, रक्सी जुवातासको प्रत्यक्ष सिकार महिला र बालबालिका बनेका हुन्छन् । जुन घरको पुरुष जड्याह छ, त्यसैले आफ्नो घरको बाल बच्चाको पालनपोषण लेखाई पढाईमा ध्यान नदिई उल्टै स्वास्नी छोराछोरीलाई कुटपिट र झगडा गरी घर परिवारको वातावरण धमिलो बनाएको हुन्छ । यस्तो घरको अवस्था कस्तो होला ? वास्तवमा आमाले त बच्चालाई हुर्काउने, पालनपोषण गर्ने घरधन्दा चलाउने काम एक्लै गर्नुपर्ने हुन्छ । त्यसैले डरक्रासले खुम्ची रहनु पर्ने हुन्छ । यस्तो अवस्था भईरह्यो भने बाल मनोविज्ञानमा नराम्रो असर परी उनीहरुको दिमागमा अहिले पनि आतंकको घर बनिरहन्छ । यस्तै पारिवारिक समस्याबाट मुक्ति पाउनको लागि कतिपय बच्चाहरु सानै उमेरमाघर छाडेर भागेको पाइन्छ । यस्तै बच्चाहरु सडकमा भौंतारिन पुग्छन् । 

जाँड, रक्सी र जुवातासको प्रत्यक्ष असर बालबालिका र किशोरहरुमा पर्दछ । उनीहरुको यो उमेर भनेको देखेको र सुनेको कुरा छिट्टै सिक्ने र देखासिकी गर्ने उमेर हो । सुमार्ग दखाउने अग्रज छन्  भने सुमार्गमा लाग्ने र कुमार्ग देखाउने अग्रज छन् भने कुमार्गमा लाग्ने हुन्छन् । अग्रज नै कुलतमा फसेपछि बालकहरु कसरी सुयोग्य नागरिक भई देशको सेवा गर्न सक्छन् ? यस्तै विविध गतिविधिहरुले गर्दा चोरी डकैती हत्या बलात्कार जस्ता अपराधिक गतिविधिहरु बढ्ने गर्दछन् । देशको आमुल परिवर्तन र विकासको कार्यमा कार्यमा जुट्नु पर्ने युवा वर्गहरु नै कुलतका सिकार भएपछि देशको भविष्य कस्तो होला ? यस्ता चुनौति हुँदाहुँदै पनि राजस्व बढी उठाउने नाममा नियन्त्रण गर्नुको सट्टा खुलेआम छुट छ । स्वास्थ्य, शिक्षा र विकास निमार्णको काममा लगाउनु पर्ने रकम गलत ठाउँमा प्रयोग गर्नु अनुपयुक्त हुन्छ । सरकारले डिलर र भट्टि व्यवसायीहरुलाई रक्सी बन्द गर्न लगाई जनताको स्वास्थ्यमा असर नपर्ने, देश विकासमा सघाउ पुर्‍याउने खालका उद्योग व्यवसायहरुमा लगानि गर्नुपर्छ । मदिरा बेचबिखन र सेवनले समाजमा विकृति फैलिने घरघरमा झगडा हुने हुनाले रक्सी डिलर पसल र होटेल रेस्टुरेण्ट आदि सबै ठाउँ बन्द गर्नुपर्छ । मदिराले हामी सबैको स्वास्थ्य र परिवारको भविष्य अन्धकारमय हुने भएकाले पनि बन्द हुनै पर्दछ । 

जुवातासले पनि समय, पैसा, इज्जत वा भौतिक सामाग्रीको नाश हुने भएकाले यसलाई पनि बन्द गर्नैपर्ने हुन्छ । जुवातासकै कारण कैयौ घरवार बिहीन भएका छन्, समाजमा पनि मान प्रतिष्ठानमा ह्रास आउने हुन्छ ।