काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ। महानगरको शिक्षा विभागले सूचना जारी गर्दै साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने जनाएको हो ।

विद्यार्थीहरुले बिभिन्न कारणले समयमा आवेदन दिन नपाएको गुनासो गरेपछि महानगरले धेरै विद्यार्थीहरुलाई आवेदन दिने अवसर उपलब्ध गराउन ३ दिन म्याद थप गरेको हो । परीक्षाको मिति भने परिवर्तन गरिएको छैन। 

महानगरका अनुसार करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ। जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन्। आवेदन दिन चाहने विद्यार्थीले http://entrance.kathmandu.gov.np/ वेवसाइटमा गएर आवेदन दिन सक्नेछन्। 

छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा वस्तुगत प्रश्न सोधिनेछन्। परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ। 

आवेदक विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ। निजी विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ। यी दुवै कागजपत्रका ढाँचा वेवसाइटमा अनुसूची १ र २ मा राखिएका छन्।

अनलाइनमा भरेका विवरण आफैँले हेर्न र सच्याउन मिल्ने गरी राखिएका छन्। पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता विद्यार्थीहरूको आवेदन फाराम रद्द हुनेछ। भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ।