काठमाडौं - जिरी टेक्निकल स्कुलमा फार्मेसीतर्फ डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निर्णयअनुसार चिकित्सा शिक्षा आयोगले जेटिएसलाई फार्मेसीतर्फ डिप्लोमा तहकोकक्षा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो। योसँगै नेपालकै नमूना मानिने जेटिएसमा आगामी आगामी शैक्षिक सत्रबाट फार्मेसी डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएको छ। 

फार्मेसीका लागि ४० जनाको कोटा रहेकोमा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्ने छन्। यसअघि जेटिएसमा कृषि र पशु विज्ञानतर्फ डिप्लोमा तह र सिभिलतर्फ इन्जिनियरिङ्गको कक्षा सञ्चालन हुँदै आएको थियो। कृषि विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङमा पनि ४० जनाकै कोटा रहेको छ। 

कक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जेटिएसले जनाएको छ। एनाटोमी ल्याब, फिजियोलोजी ल्याब र हेल्थ क्लिनिक तयारी अवस्थामा रहेको र अन्य ल्याबहरू आगामी वर्षबाट थप गरिने पनि जेटिएसले जनाएको छ। 

फार्मेसी तर्फको तीन वर्षे डिप्लोमा अध्ययनका लागि जम्मा एक लाख १० हजार शुल्क प्रस्ताव गरिएको छ।