काठमाडौं - अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.२५ अंकले घटेर ३८८.८६ विन्दुमा पुगेको छ।
आज २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सेयर मूल्य घट्यो भने ४ उपसमूहको सेयर मूल्य बढ्यो।
डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक ३.४२ प्रतिशतले बढ्यो भने फाइनान्स उपसमूहको सूचक २.९९ प्रतिशतले बढ्यो। मनु एन्ड प्रो र म्युचुअल फन्डको सूचक सामान्य उकालो लाग्यो। होटल्स एन्ड टुरिजम र हाइड्रोपावरको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो भने बाँकी सबै उपसमूहको सूचक सामान्य ओरालो लाग्यो।
आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। हिमालयन पावर पार्टनर र एनआईबीएल समृद्धि फन्ड २ को सेयर मूल्य १० प्रतिशतले बढ्यो भने रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन लाइफ इन्स्योरेन्सको आज १२ करोड ७८ लाख बढिको सेयर कारोबार भयो।
0 comment