काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने जनाएको छ। 

बोर्डले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको हो। ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् भने बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ। 

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने बोर्डले जनाएको छ। 

परीक्षा रद्द भएका परीक्षार्थीले भने पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ।