काठमाडौं - अघिल्लो दिन ५३.७० अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.१७ अंकले घटेर ३८६.३५ विन्दुमा पुगेको छ। 
 
आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुईको सूचक उकालो लागेको छ भने ११ उपसमूहको सूचक ओरालो लागेको छ।

होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक २.०७ प्रतिशतले उकालो लाग्यो भने ट्रेडिङको सूचक उकालो सामान्य लाग्यो। बैंकिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य उपसमूहको सूचक  १ प्रतिशत बढिले ओरालो लाग्दा डेभलपमेन्ट, फाइनान्स, इन्भेष्टमेन्ट र नन लाइफ इन्स्योरेन्सको सूचक सामान्य ओरालो लाग्यो।

आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिवाइसीएल नेपाल लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यसैगरी, सिटी होटलको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन लाइफ इन्स्योरेन्सको आज २३ करोड ९४ लाख बढिको सेयर कारोबार भयो।