काठमाडौं - अघिल्लो दिन ५६.९४ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ३५.३७ अंकले घटेर २,१५०.९९ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ९.७६ अंकले घटेर ४०२.७५ विन्दुमा पुगेको छ। 

आज २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक ओरालो लागेको छ। 

अन्य उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो भने डेभलपमेन्ट, फाइनान्स, होटल्स एन्ड टुरिजम, माइक्रो फाइनान्स र ट्रेडिङको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। त्यसैगरी, बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट र मनु एन्ड प्रोको सूचक १ प्रतिशत बढिले ओरालो लाग्दा म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्सको सूचक सामान्य ओरालो लाग्यो।

लाइफ इन्स्योरेन्स उपसमूहको सूचक भने २.४६ प्रतिशतले बढेको छ।

आज तीन कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भयो। हिमालयन लाइफ, बीपीडब्लू लघुवित्त वित्तीय र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन लाइफ इन्स्योरेन्सको आज ८३ करोड बढिको सेयर कारोबार भयो।