काठमाडौं - नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा हङकङ उडान भर्ने भएको छ। 

काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सलेभैरहवाबाट पनि सिधा उडान सञ्चालन गर्न लागेको हो।

विश्व प्रसिद्ध लुम्बिनीलाई सिधा हवाई उडानबाट हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ। निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि उडान सञ्चालन भर्न अन्तिम तयारी गरिरहेको छ। भैरहवाबाट दुबई, दोहालगायत अन्य मुलुकमा पनि उडान विस्तार गर्ने निगमको योजना छ। निगमका अनुसार अबको १५ दिनभित्र भैरहवाबाट हङकङ र नयाँ दिल्ली उडानका लागी टिकट बुकिङ खुला गरिनेछ। 

निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ। त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ। दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिसकेको छैन।

निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौं उडान गरिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगमले विशेष पहल गरी भैरहवाबाट उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ।

विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आएपछि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ। 

- रासस