काठमाडौं - साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ७.१८ अंकले बढेर ३९०.५६ विन्दुमा पुगेको छ।
आज २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक उकालो लागेको छ।
लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सर्वाधिक ६.३८ प्रतिशतले बढ्यो भने होटल्स एन्ड टुरिजम र अन्य उपसमूहको सूचक पनि ६ प्रतिशत बढिले उकालो लाग्यो । नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक ४ प्रतिशत बढिले उकालो लाग्दा हाइड्रोपावर र ट्रेडिङको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो। त्यसैगरी, फाइनान्स, मनु एन्ड प्रो र माइक्रोफाइनान्स उपसमूहको सूचक २ प्रतिशत बढिले उकालो लाग्यो । डेभलपमेन्ट र इन्भेष्टमेन्ट उपसमूहको सूचक १ प्रतिशत बढिले उकालो लाग्दा म्युचुअल फन्डको सूचक सामान्य उकालो लाग्यो ।
आज ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीन भेन्चर्स, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय, मेन्चियाम हाइड्रोपावर, सिटी होटेल, महुली लघुवित्त वित्तीयको मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज ३६ करोड ६४ लाख बराबरको सेयर कारोबार भयो।
0 comment