काठमाडौं - अत्यधिक गर्मी हुन थालेपछी उपत्यका बाहिरका अधिकांश स्थानिय सरकारले विद्यालयको पठनपाठन बन्द गरेका छन्।
शुक्रबार एक सूचना जारी गर्दै दाङ, विरगंज, धनगढी, जनकपुरधाम, गोरखा र तनहुँमा विद्यालय बन्द गरिएको हो।
अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको वीरगन्ज महानगरपालिकाले नगरभित्रका शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। यसअघि महानगरले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो । तर, गर्मी झन् बढ्दै गएपछि शुक्रबार एक सूचना जारी गरी महानगरले सबै विद्यालय अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी, अधिकतम तापक्रम ४० डिग्रीको हाराहारीमा पुगेपछी दाङका स्थानीय तहले आगामी पाँच दिनका लागि विद्यालयको पठन पाठन बन्द गरेका छन् । गर्मीका कारण विद्यार्थीमा समस्या देखिन थालेपछि दाङका आधा भन्दा बढी स्थानीय तहले औपचारिक रुपमा विद्यालयको पठनपाठन बन्द गर्ने गरी सूचना जारी गरेका छन् । जिल्लाका अन्य पालिकाहरू पनि विद्यालय बन्द गर्ने तयारीमा छन् ।
त्यस्तै, अधिकतम तापक्रम ४० डिग्रीमाथी पुगेपछी धनगढी उपमहानगरपालिकाले आइतबारदेखि ४ दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने गरी सूचना जारी गरेको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिन थालेकाले बर्खे वा हिउँदे बिदाबाट मिलान हुने गरी आइतबार देखि ४ दिनसम्मका लागि विद्यालयहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको हो।
त्यसैगरी, अधिकतम तापक्रम ४० डिग्रीमाथी पुगेपछी गोरखाको पालुङटार नगरपालिकाले तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने गरी सूचना जारी गरेको छ। गर्मीले बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ।
त्यस्तै, केहीदिन देखिको अत्याधिक गर्मीपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ। विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरुले यसअघि नै निर्णय गरिसकेका छन्।
आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म सबै विद्यालयलाई बिदा दिएको छ। देवघाट गाउँपालिकाले यसअघि नै विद्यालय बिदा गरिसकेको छ। व्यास नगरपालिका भित्रका केही विद्यालयहरु मात्रै बन्द छन्। बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने नगरपालिकाको निर्णय अनुरुप केही विद्यालयहरुले बिदा दिएका छन्। शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेकोले बर्षा याममा बिदा लिने गरी अहिले पठनपाठन बन्द गरिएको छैन।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप तीन दिन आकस्मिक गर्मी बिदा दिइएको छ। यसअघि जेठ १९ गते शुक्रबारदेखि २६ गते शुक्रबारसम्म ८ दिन वर्षे बिदाबाट कट्टा हुने गरी पठनपाठन बन्द गरिएको थियो। तर, मौसममा सुधार नआएकाले पुनः २७ गतेदेखि २९ गतेसम्म पठनपाठन बन्द रहने छ।
0 comment